नेपालको मधेश प्रदेशमा अवस्थित रौतहट जिल्लाको पूर्व-पश्चिम तथा उत्तर – दक्षिणको मध्यभागमा रहेको साबिक गा.वि.स धरहरी हाल देवाही गोनाही नगरपालिका वडा नं. ९ धरहरीमा स्थित श्री जय किसान माध्यमिक विद्यालय धरहरी,रौतहट संचालित रहेको छ | विद्यालयको स्थापाना कालदेखि हाल सम्म विभिन्न शैक्षिक गतिबिधिहरुलाई देहाय अनुसार प्रस्तुत गरिएको छ | मुख्यत धरहरी, दिपही, पोठियाही, जयनगर, प्रेमपुर गोनाही र देवाही गाउँहरुको पायक पर्ने स्थानको पहिचान गरी समुदायको तत्कालिन अगुवा व्यक्तिहरु द्वारा शिक्षाको विकासलाई हृदंगमन गरी वि.स. २००६ सालमा प्रेमपुर गोनाही गाउँबाट फुसको घर केहि पैसामा खरिद गरि त्यो सानो घर मुख्यत: स्व. दुलम राय यादव र स्व. सरफलाल राय यादव बाट उपलब्ध गराईएको जग्गामा श्री लोअर प्रईमरी स्कुल धरहरी बजार तत्कालिन जिल्ला बारा दोस्तिया परगाना हुने गरि वाल वर्ग, कक्षा १ देखि ३ सम्मको पठन- पाठन संचालन भयो | वि.स. २००९ सालमा पुन: यस विद्यालयलाई श्री अपर प्राइमरी स्कुलको नामबाट कक्षा ४ देखि ५ सम्मको पठन-पाठन शुरु भयो | शिक्षा सबैको र सधैको लागि हुने भएकोले नै वि.स. २०११ सालमा श्री मिडिल इंग्लिश स्कूल धरहरी, जिल्ला बाराको नामबाट अपग्रेडिंग भयो र कक्षा ६ र ७ को पठन-पाठन संचालन भयो |
समुदायको आवश्यकतालाई महसुस गरि शैक्षिक अगुवाहरुको साहस एवं किसान,मजदुर, जवानहरुको अथक प्रयास र सहयोगले वि.स. २०२६ सालमा श्री जय किसान हाईस्कूल धरहरी, रौतहट जिल्लाको नामबाट कक्षा ८, ९ र १० को पठन- पाठन संचालन गर्न अनुमति प्राप्त भयो र मिति २०२९/०२/२६ गते अंचल शिक्षा कार्यालय विरगंजबाट स्वीकृति प्राप्त गरियो | यस शैक्षिक संस्थाबाट समुदायका आर्थिक, शैक्षिक , रोजगारीको अवसरका साथै जीवन शैलीमा सुधार एवं आमुल परिवर्तन देखा प-यो | समयको मांग र आवश्यकतालाई ध्यान केन्द्रित गर्दै वि.स. २०६४/०३/३२ गते उच्च माध्यमिक शिक्षा परिषद सानोठिमी भक्तपुर बाट यो विद्यालयमा +२ तर्फ ( शिक्षा , बाणिज्य ) को कक्षा संचालन गर्न प्रक्रियागत रुपमा श्री जय किसान उच्च माध्यमिक विद्यालय धरहरी,रौतहट नामाकरण भई कक्षा ११ र १२ संचालन भयो | पुन: क्रमशः वि.स. २०६८/०४/०१ गते देखि विज्ञान संकाय र मिति २०७६/०३/२२ गतेमा मानविकी तथा कानुन विषयको कक्षा संचालन गर्न अनुमति प्राप्त भयो | यस विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद सानोठिमी भक्तपुर बाट मिति २०७४ साल बैसाख देखि कक्षा ९ र १० एवं मिति २०७६/०३/२२ गते देखि कक्षा ११ र १२ प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिंगको कक्षा संचालन गर्न अनुमति प्राप्त गरियो | यो विद्यालयको उन्नति र प्रगतिको शैक्षिक प्रकाशबाट समुदायमा सकारात्मक प्रभाव पारिदै आएको व्यहोरा विभिन्न माप दण्डबाट आम जन समुदायहरुको ठम्याई रहेको बुझिन्छ |